काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले बागमती करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर मेयर साहले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् । केही दिनअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पनि भेटेर सहयोग मागेका साह गृहमन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् । केही महिनाअघि सुकुम्बासी बस्ती हटाउन पुगेका सुरक्षाकर्मीमाथि स्थानीय आक्रमणमा उत्रिएका थिए । त्यसयता मेयर साहले सरकारसँग सहयोग मागिरहेका छन् । त्यसैगरी अमेरिकाले नेपालको विकासमा आफूले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ । दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालको विकासमा अमेरिकाले सुरु गरेको विकास परियोजनाहरु अगाडि बढाउन तयार र दृढ रहेको जानकारी गराएकी हुन् । काठमाडौं आइपुगेकी उनी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पनि नेपालको विकासमा अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । साथै प्रधानमन्त्री र नुल्यान्डबीच द्विपक्षीय सहयोग, आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काठमाडौंको बसाइका क्रममा नुल्यान्डले कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताएका छन् । पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टी भित्र प्रवेश नै नगराइएको जिकीर समेत गरे । उनले भने, ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सी छलफल होला ।’ सर्वोच्च अदालतले आदेश दिएपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफनो पद गुमाएका थिए । सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले आवश्यक निर्णय गर्नु भएको छैन भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दावी नछाडने जनाएको छ ।