काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए । उनले भने, ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ ।’ नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो । त्यसैगरी नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने निर्णय गरेको छ । माओवादी पदाधिकारीको बैठकले गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै राख्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृह मन्त्रालय पुनः पाउनुपर्ने माग गरिरहेका बेला माओवादीले उनलाई तत्काल गृह नदिने भएको हो । माओवादी अध्यक्षसमेत रहेका दाहालले सर्वोच्चको पूर्णपाठ नआउन्जेल गृहमन्त्रालय आफैँले राख्न सुझाव आएको सञ्चार माध्यमलाई जानकारी दिए । यसैगरी सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार तय गरिनुपर्ने पुरानो अडानलाई माओवादी बैठकले कायमै राख्ने निर्णय गरेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले पहिला आफ्नो पार्टीले नेतृत्व गरेको गृह मन्त्रालय नपाउने भन्ने हामीले सोच्दै नसोचेको धारणा व्यक्त गरेका छन् । गृहमन्त्री पदबाट राजीनामा दिएपछि अहिले गृहमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हालिरहेको प्रसंगमा अर्यालले भने, ‘हामी नकरात्मक सोचमा हेर्दैनौ, हामीले नेतृत्व गरिरहेको गृह मन्त्रालय हामीले नै पाउनेमा ढुक्क छौ ।’ माओवादीका नेताहरुको बैठकमा प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालय आफैले राख्न सुझाव दिएका थिए । पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले रवि लामिछानेको मुद्धाको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको बारेमा कुनै निर्णय नगर्ने बताएका थिए । माओवादीको पदाधिकारी बैठकमा गृह मन्त्रालय बारेमा छलफल नभएको राष्ट्रिय स्वतन्त्रपार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले दाबी गरेका छन् । पार्टी सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहरीए पछि लामिछानले नेतृत्व गरिरहेको गृहमन्त्रालयबाट राजिनामा दिएका थिए ।