काठमाडौं । राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा १ सय ३० बिगाहा जमिनमा अवैध रूपमा लगाइएका अफिम खेती तथा २८ बिगाह १० कठ्ठा जमिनमा लगाइएका गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको हो । जसमध्ये राक्सिराङ गाउँपालिका–४ मा रहेको चैत, देबिटार र चौकिदार एरियाको साथै सोही गाउँपालिका–६ अन्तर्गत काङद्राङ, काम्ले, नारायणी र अईनाटर एरियामा लगाइएको अफिम तथा गाँजा नष्ट गरिएको छ भने सोही गाउँपालिका–७ अन्तर्गत छाकुन, भुईबिसौने, धुसेनी, डामटार, जुरिथुम, चौकिडाडा, फेदी, घैयाबारी, गार्लिङ र खर्लिङ एरियाको समेत गरी ९५ बिगाहमा लगाइएको अफिम खेती र २८ बिगाह १० कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । यसैगरी कैलाश गाउँपालिका–७ र ८ का भार्ता, फास्टा, पाख्रे लगायतका विभिन्न वडा एरियाको ३५ बिगाहमा लगाइएको अफिम खेती समेत प्रहरीले फडानी गरी नष्ट गरेको हो । यसैबीच बैतडी, सुर्नया गाउँपालिका–१ हटैराज गुरगेलि बस्ने २५ वर्षीय दिपक चन्दलाई अवैध लागूऔषध चेरश १ सय ९९ ग्राम सहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले सोही ठाउँमा संचालन गरेको श्री केदार हटैराज खुद्रा पसलमा लागूऔषध चरेस बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका–१ केराबारीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ७९ मिलिग्राम सहित रामधुनि नगरपालिका–३ पिप्राहा बस्ने २७ वर्षीय करण कुमार चौधरीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।