काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । त्यसैगरी कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका–२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो । यसैबीच मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित होटलबाट नियन्त्रित लागूऔषध कोडिविल एकसय एमएलको ५० बोतल सहित बारा निजगढ नगरपालिका–७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना समेत २ जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.३७ प ६७०३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उदयपुर, कटारी नगरपालिका–४ कटारीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६५ ट्याब्लेट, लुपिजेसिक ४० एम्पुल, डाईजेपाम ४२ एम्पुल र एल्जिक ७ एम्पुल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हरिकृष्ण सुनुवार समेत २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।