काठमाडौं । नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन । संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे । आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवद्र्धन हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे । उनले पौडेलको व्यक्तित्व, पौडेलले खेलेकोे वर्षौँको भूमिकाप्रति अहिले न्याय मिलेको छ उनले भने । संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै नेता कोइरालाले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा सङ्घमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गरे । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने उल्लेख गरे । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले सङ्घीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुनसक्ने बताए । उपमहासचिव ज्वालाले संसद्को ठूलो राजनीतिक रुपमा रहेको र भोलिका दिनमा सम्मानजनक सहकार्य गर्ने सङ्कल्पका साथ कांग्रेसका उम्मेदवारलाई आफ्नो पार्टीलगायत आठ दलले समर्थन गरेको उल्लेख गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले कांग्रेस रामचन्द्र पौडेलले संविधान निर्माणमा पनि नेतृत्व गरेको र यसको रक्षाका निम्ति पनि पहलकदमी लिएको हुनाले सहकार्य गरेर जानुपर्छ भन्ने भावनाका साथ गठबन्धन बनेको उल्लेख गरे । उनले नयाँ गठबन्धन सङ्घदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गरे ।