काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । सर्वोच्चमा उमेर हदका कारण न्यायाधीशको कार्यकाल सकिएका कारण अहिले प्रधानन्यायाधीशसहित ५ जनाको पद खाली छ । मुद्दाको चाप रहेको सर्वोच्चमा न्यायाधीशको संख्या घट्दै जाने र नियुक्ति नहुँदा काममा बोझ बढिरहेको एक न्यायाधीशले बताए । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा संसदीय सुनुवाइ हुन सकेको छैन । न्याय परिषद्ले गत भदौ २१ गते उच्च अदालतका कामु मुख्यन्यायाधीशद्वय नीता गौतम दीक्षित, विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डिएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ नहुँदै अघिल्लो संसद्को कार्यकाल सकिएकाले सर्वोच्चले न्यायाधीश पाउन नसकेको हो । अन्य न्यायाधीश नियुक्ति सिफारिस गर्न न्याय परिषद् अहिले पूर्ण छैन । न्याय परिषद्को सदस्य हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अहिले छैनन् । कानुनमन्त्री ध्रुवबहादुर प्रधानले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्ति भएको अवस्था छैन । हाल प्रधानमन्त्री पुष्पकमल दाहालकै जिम्मेवारीमा यो मन्त्रालय भएकाले निर्णय गरेर हस्ताक्षर गराउने विषयमा छलफल भएको न्याय परिषद्का एक सदस्यले बताए । त्यसैगरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी सचिवालयको ५१ औं बैठकले उक्त निर्णय गरेको हो । समाजवादीले यसअघि नै फागुन १३ गते भएको मनोनयनका क्रममा राष्ट्रपतिमा पौडेललाई समर्थन गरिसकेको छ । त्यसैगरी संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दलमा आफूलाई दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालिन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमबार नेकपा(एमाले)ले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । यससँगै नेकपा(एमाले)ले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ । कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेकाले तय भईसकेको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताए । उनले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गरे । काँग्रेस सरकारमा नजाँदासम्म संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उनको भनाइ छ । एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसावले काँग्रेस अगाडी रहेकाले काँग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उनले बताए । यस्तै नेकपा (एमाले) का सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताए । उनले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पारे ।