काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छिन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी हुन् । ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्नको सुखद् अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताएकी हुन् । दोलखा जिल्लाको विकासका लागि डाँङडुगे डाँडामा अन्तर्राष्टियस्तरको फिल्म सिटी बन्ने घोषणा भएको तर काम तदारुपताका साथ अघि नबढेकाले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारी आग्रह गरिन् । पवित्र धार्मिकस्थल भीमेश्वर महादेवकोे दर्शनपछि दोलखा सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रमलाई उनले सम्बोधन गरेकी हुन् । जिल्लामा ४५ वर्षअघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो । त्यसैगरी नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत नरहेको दाबी गरेका छन् । ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताए । उनले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भवना ठूलो रहेको उल्लेख गरे । अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्ने कुरामा प्रतिवद्धता जनाएको उनले बताए । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई कानूनी कारबाही गर्ने बताएका छन् । उनले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति निर्माण गर्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले प्रधानमन्त्री दाहाल र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई भेट गरी यही फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ मा सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको आयोजनामाथि भएको आक्रमणका बारेमा जानकारी गराएको थियो । कुल ३५ मेगावाट क्षमताको न्यासिमखोला जलविद्युत् आयोजनाको निर्माणस्थलमा एक आपराधिक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको साङ्घातिक आक्रमणमा संलग्नलाई कानूनी कारबाही गर्न इपानले माग गरेको थियो ।