काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको भनाई थियो । स्थानीय तह कर्मचारी संघ, नेपालले एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावी समेत गरे । अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए । उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए । नेपालीहरु मारेर भएपनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो । उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेबिरुद्ध मुद्धा हालेर चर्चामा आएका युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । पौडेलेको संयोजकत्वमा नौं सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरिएको छ, जसमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् । ‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठक लगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’ मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।