काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रातृशोकमा परेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको गत शनिबार निधन भएको थियो । भ्रातृशोकमा रहेका अध्यक्ष नेपाललाई किरियापुत्री घरमा पुगेर अध्यक्ष ओलीले समवेदन व्यक्त गरेका हुन् । त्यसैगरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताए । सरकार अफ्ठयारोमा पर्दा संसद् विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उनको भनाइ थियो । उनले नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा सांसदबारे अहिले विरोधाभास भइरहेको बताए । उनले सरकार सञ्चालन गर्नेहरूले ढंग पु¥याएर संसद् चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खोजेको आरोप लगाए । उनले केही राजनीतिक दलहरूले संसद् विघटन नगर्ने कुरालाई सबैभन्दा ठुलो क्रान्तिकारी र परिवर्तनगामीका रूपमा लिइरहेको उल्लेख गरे । अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताए । उनले राजनीतिक दलहरूले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने दाबी गरे ।