काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सांसदहरुले बधाई दिएका छन् । संसद भवनको हलभित्र एक कार्यक्रमबीच संघ र प्रेदशका सांसदहरु,सबै राजनीतिक दलका शिर्ष नेताहरु, सरकारी निकायका उच्च पदाधिकारीहरु, संवैधानिक निकायका पदाधिकारीले बधाई दिएका हुन् । पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले भने प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मत प्राप्त गरेका थिए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन् । ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि नेपालले भने । राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविकरूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ । त्यसैगरी आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो । सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ती दलले २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । नेपालको संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने व्यवस्था छ । निर्वाचनका लागि दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनःजागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टी नेपाल छन् ।