काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै १० दलीय सत्तारुढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए । आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको बताएकी छिन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरिन् । मन्त्री शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छिन् । तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको उनको भनाइ थियो । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् । स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भनिन्, ’बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।’ गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरिन् ।