काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति पौडेलले पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन् । देउवाले पौडेलको राजीनामा कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार आइतबारदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको पार्टी केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा दुई पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदान प्रदानका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराएकी छिन् । भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै उनले यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको राजदूतमार्फत ध्यानाकर्षण गराएकी थिइन् । भारतको तथ्य इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भए पनि प्रगति हुनु सकेको छैन । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको पनि सहभागिता रहेको थियो । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राज्यको अग्रगामी पुनःसंरचना हुनुपर्ने बताएका छन् । माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले वृहत शान्ति सम्झौता गर्दा आफूहरुले राज्यको अग्रगामी पुनःसंरचना गर्ने मान्यता आफूहरुको रहेको भन्दै आजसम्म पुनःसंरचना हुन नसकेको बताएका हुन् । उनले देश प्रतिगमनको दिशामा अगाडी बढिरहेको बताए । आफूहरुले शान्ति चाहेको र शान्तिबाट विचलित नहुने भन्दै राज्यको अग्रगामी पुनःसंरचना भने आवश्यक रहेको बताए । वर्गिय, क्षेत्रिय, लिङ्गीय भेदभाव मेटिनेगरी राज्यको पुनःसंरचना नहुँदासम्म द्वन्द्व निम्तिइ रहने उनको भनाइ छ । उनले आफूहरुले द्वन्द नचाहेको र शान्तिपूर्ण रुपमा राज्यको पुनःसंरचना होस् भन्ने चाहेको उल्लेख गरे ।