काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उनले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिए । मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उनको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले दलित समुदाय माथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले उठाएका जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले निरन्तर सांस्कृतिक आन्दोलन र अभियान चलाउनुपर्ने बताएका हुन् । उनले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि सरकारको तर्फबाट भएका कानुनको प्रभावकारी कार्यान्वयन र अपुग भएका कानुन निर्माणका लागि प्रतिबद्ध रहेको उल्लेख गरे । प्रधानमन्त्रीले दलित समुदायलाई अधिकार सम्पन्न गराउनका लागि ऐतिहासिक कर्म गर्न दृढ रहेको स्पष्ट पारे । दलित समुदाय र महिलामाथि भएको विभेद र ज्यादती अन्त्य गर्न कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वको सोचमा समेत परिवर्तन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले आर्थिक विकास तथा समृद्धिको अभियानबाट पनि जतीय विभेद कम गर्न सकिने उल्लेख गरे । प्रधानमन्त्रीले आफूहरु क्रान्तिकारी आन्दोलनमा रहेको बेला उठाइएका विषय नै सङ्कल्प प्रस्तावमा समावेश गरिएकामा प्रसन्नता व्यक्त गरे । उनले क्रान्तिका बेला कायम भएका अन्तरजातीय विवाह क्रमशः सम्बन्ध विच्छेदतिर गएकामा दुःख व्यक्त गरे । निरन्तर सामाजिक चेतना, रुपान्तरण र सांस्कृतिक आन्दोलनसँगै अगाडि जान जरुरी रहेको उल्लेख गर्दै उनले केही कानुनलाई व्यवहारिक रुप दिन जरुरी रहेको बताए । प्रधानमन्त्रीले सामाजिक आन्दोलनको प्रक्रिया अगाडि नबढ्दासम्म भएका कानुनको कार्यान्वयन पनि क्रमशः निष्प्रभावी हुँदै जाने खतरा रहेको बताए । त्यसैगरी राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरुले झापामा पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । भेटमा सहभागी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पूर्वराजा शाहसँग भेटका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।