काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि नेता शरदसिंह भण्डारीले जानकारी दिए । यसका लागि गठबन्धनमा आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ । त्यसैगरी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । नेपाल–इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले देशमा सुशासन कायम गर्न नसके, पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाएपनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे । उनले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिष्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भएपनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको बताए । उनले आत्मनिर्भर र स्वावलम्वी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक रहेको बताए । त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बदर र क्याम्पस सञ्चालक समितिको खारेजी सहितका ६ बुदें माग राख्दै ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठन आन्दोलित भएका छन् । एमाले निकट अनेरास्वबियु र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले एक विज्ञप्ति प्रकाशित गरी त्रिभुवन विश्व बिद्यालयबाट घोषित परीक्षा बाहेक क्याम्पसमा सञ्चालन गरिने सबै क्रियाकलापमा बन्द आह्वानको घोषणा गरेका छन् । अनेरास्वबियुका क्याम्पस कमिटी अध्यक्ष प्रदीप गुरुङ तथा समाजवादी विद्यार्थी युनियन क्याम्पस कमिटी अध्यक्ष किशोर आङबुहाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा चैत ५ गते सम्पन्न स्वबियु निर्वाचन बदर गरी अर्को निर्वाचन घोषणा गर्न माग गरिएको छ । निर्वाचनको निष्पक्षता माथि प्रश्न उठाउँदै यी दुई बिद्यार्थी संगठनले स्वबियु निर्वाचन स्थगनको माग गरी क्याम्पस प्रशासनमा ताला लगाएको थियो । मनोनयनको प्रकृया समेत पूरा भईसकेको र अरु निर्वाचन कार्यक्रम समेत अघि बढेको अवस्थामा निर्वाचन कार्यक्रम स्थगन गर्न नसकिने भन्दै क्याम्पस सञ्चालक समितिले निर्वाचन कार्यक्रम अघि बढाएको थियो । निर्वाचनको दिन अनेरास्वबियु समाजवादी विद्यार्थी युनियनले नाराबाजी सहित निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरी निर्वाचित भएको प्रमाणपत्र समेत दिइसकेको छ । निर्वाचनमार्फत काँग्रेस निकट विद्यार्थी संगठन नेबिसंघका नेता अर्जुन खिम्दिङ नेतृत्वको अखिल क्रान्तिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निकट संघीय विद्यार्थी युनियन र नेकपा एस निकट अनेरास्वबियु सहितको समीकरण नेतृत्वले भारी मतका साथ निर्वाचित भएको घोषणा यसअघि नै गरिसकिएको छ । एमाले निकट अनेरास्वबियु र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले क्याम्पस सञ्चालक समितिको म्याद पहिले नै सकिएको दाबी गर्दै म्याद सकिएको समितिले गरेका निर्णय अवैधानिक घोषणा गर्न समेत माग गरेको छन् । उनीहरुले म्याद सकिएको समिति भंग हुनुपर्ने अडान लिएका छन् ।