काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका सचिव पौडेलले बताए । बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस पार्टीलाई मजबुद बनाउन लागिपरेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको उल्लेख गरे । महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए । महामन्त्री थापाले जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गरे । त्यस्तै आजभन्दा भोलीको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले सुझाव दिए । कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको महामन्त्री थापाको गुनासो थियो । आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उनले जिकिर गरे । विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताए ।