काठमाडौं । महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु अपरान्ह काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो । ‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । त्यसैगरी मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग परामर्श गरेका हुन । तीन शीर्ष नेता बीच मंगलबार बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन । चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन् । त्यसैगरी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरु हिँड्नुपर्ने बताएका छन् । काठमाडौंमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरु हिँड्न आवश्यक रहेको बताएका हुन । उनले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा काँग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको बताए । उनले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्नेकुरामा सोच्न जरुरी रहेको धारणा राखे।नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गर्नुभएको देन समाजले सम्झिरहने बताए ।