काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबारसम्ममा अन्तिम रुप प्राप्त गर्ने जानकारी दिए । त्यसैगरी सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय भागबन्डामा जुटेका छन् । तर मन्त्रालयको संख्यामा सत्तारुढ दलहरुको कुरा मिलेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले पनि मन्त्रिपरिषद विस्तार टुङ्ग्याउन सकेन । नेपाली कांग्रेसले पनि भनेको संख्यामा मन्त्रालय पाएको छैन । कांग्रेसले ९ वटा मन्त्रालय मागिरहेको जानकारीमा आएको छ । तर प्रधानमन्त्री दाहाल ७ वटा मन्त्रालय मात्र दिन चाहन्छन् । संख्या मात्र होइन रोजेको मन्त्रालय समेत नपाएको जानकारहरु बताउँछन् । निर्वाचनमा ८९ सिट ल्याएको नेपाली कांग्रेसका नेताहरु मन्त्री संख्या नपुगेको भन्दै बालुवाटारमा धर्ना दिइरहेका छन् । बत्तीस सिटे दल नेकपा माओवादीसँग ८९ सिटे कांग्रेसले मन्त्री संख्या बढाइदिन आग्रह गरिरहेको छ । त्यसैमा आफूले मागे अनुसारको मन्त्रालय पनि नपाउने अवस्था छ । सरकार विस्तारका नाममा केही दिन यता सत्ता गठबन्धन दलहरुबीच पटक पटक छलफल र बैठक भइरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा यस्ता बैठक नियमित भइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक दिन सत्ता समर्थक दलका शीर्ष नेताहरुलाई एक्ला एक्लै पनि भेटिरहेका छन् । समूहमा पनि बारम्बार छलफल भइरहेका छन् । तर उनीहरुबीचका हरेक बैठक र छलफल प्रतिउत्पादक भइरहेको छ । त्यसैगरी नेपालमा आर्थिक सङ्कटको अवस्था भयावह बनिरहेको नेकपा (एमाले) का उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पौडेलले बताउनु भएको छ । अर्थतन्त्र डर लाग्दो अवस्थामा रहेको र २०२८ सालपछि पहिलो पटक अघिल्लो वर्षको तुलनामा कम राजस्व संकलन भएको उहाँले बताउनु भयो । नेता पौडेलले आरोप भन्दा शक्तिशाली तथ्य हुने बताउँदै आर्थिक संकटतर्फ उन्मुख अर्थतन्त्रलाई ठिक लयमा फर्काउन आफूले निकै कोसिस गरेको जिकिर गर्नुभयो । सरकारले आर्थिक अराजकता नियन्त्रण गर्नुको साटो फजुल खर्च बढाउँदै लगेकाले मुलुकमा थप गम्भीर आर्थिक सङ्कटको अवस्था उत्पन्न हुने उहाँले ठोकुवा गर्नुभयो । देशव्यापी रुपमा सञ्चालित मिसन ग्रासरुट अभियान अन्तर्गत हाल सुदूरपश्चिम प्रदेशमा व्यस्त रहनुभएका उपाध्यक्ष पौडेलले नेकपा (एमाले) डडेलधुराले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको पूर्व सन्ध्यामा पत्रकारहरुसँग कुराकानी गर्दै तत्काल वर्तमान सरकार ढलाउने खेलमा एमाले नरहेको स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपाध्यक्ष पौडेलले मुलुकमा राजनीतिक स्थायित्वको अभावमा अर्थतन्त्र धराशायी बन्न थालेकोले एमालेले जिम्मेवार प्रतिपक्ष बनेर सरकारलाई सही बाटोमा हिँडाउने भूमिका निर्वाह गर्ने बताउनु भयो ।