काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केवलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर एक सय रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपीओ निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा बिच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कुल तीन अर्ब ४९ करोड रुपैयाँ लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब पन्ध्र करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् चार करोड ३० लाख रुपैयाँ बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात् २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ । परियोजना निर्माण २०७६ साल साउन ४ मा सुरु भएको थियो । कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ । कम्पनीले २०८० साल वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मंसिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ । केवलकार एक किलोमिटर लम्बाइको हुनेछ ।