काठमाडौं । तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ । यस आर्थिक वर्षमा नेपालगञ्जको १६ नम्बर वडा जैसपुरलाई तरकारी पकेट क्षेत्र निर्माण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नेपालगञ्जमा थप तरकारी पकटे क्षेत्र निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको कृषि शाखाले जनाएको छ । तरकारी पकेट क्षेत्रका लागि जैसपुरको नसरा कृषक समूह छनोटमा परेको छ । नेपालगञ्जमा तरकारीको क्षेत्रफल बढाउन, आत्मनिर्भर बनाउन र आयात रोक्न तरकारी पकेटक्षेत्र निर्माण गरिएको कृषि शाखाकी अम्बिका रिजालले जनाइन् । तरकारी पकेट क्षेत्रका लागि पहिलो वर्ष ११ लाख रूपैयाँ खर्च हुने छ भने दोस्रो वर्ष करिब ६ लाख रूपैयाँ खर्च हुनेछ । यो पकेट क्षेत्र निर्माणका लागि १० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुनुपर्ने उनको भनाइ छ । अहिले यहाँ बन्दाकोपी, काउली, फर्सी, लौका, काँक्रा लगायतका तरकारी लगाइएको नसरा कृषक समूहका अध्यक्ष सलम कवडियाले जनाए । गत वर्ष नेपालगञ्जले १९ नम्बर वडामा तरकारी पकेट क्षेत्र निर्माण गरेको थियो । यस वर्ष पनि उक्त तरकारी पकेट क्षेत्रलाई निरन्तरता दिइएको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको कृषि शाखाले जनाएको छ । अहिले भारतीय बजारबाट ठूलो मात्रामा तरकारी तस्करी हुने गरेको बेलाबेला गुनासाहरू आउने गरेका छन् । विषादी प्रयोग गरिएका भारतीय तरकारीले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आएको छ । नेपालगञ्जमा तरकारीको माग उच्च छ । स्थानीय उत्पादनले मात्र धान्न नसक्दा भारतीय बजारबाट तरकारी भित्रिने गरेको कतिपयको भनाइ छ । यहाँका किसानले तरकारीबाट राम्रो उत्पादन गरेर बजारिकरण गर्न सक्नेछन् ।