काठमाडौं । दोलखामा निर्माण भएको स्वदेशी लगानीको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रबासीका लागी प्रदान गरेको सेयरलाई डिम्याट खातामा अभौतिकिकरण (स्थानान्तरण) नगर्दा आयोजनाको प्रभावित दोलखा जिल्लाबासीले करिब ३ अर्ब नाफा गुमाउने भएका छन् । आयोजनाले प्रभावित क्षेत्र दोलखा जिल्लाबासीका लागी छुट्याएको १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता सेयर ५ बर्ष अघि आवेदन लिएर भराएको थियो । २ लाख ७६ हजार दोलखाबासीले भरेको उक्त सेयर जिल्लाबासीको सहजताका लागी बैंक खाता र डिम्याट खाता बिनै फारम र नागरिकताको भरमा भरिएको थियो । सेयर परेपछि कारोबार गर्न डिम्याट खाता खोलेर अनिवार्य रुपमा आफ्नो सेयरलाई डिम्याट खातामा अभौतिकिकरण अर्थात स्थानान्तरण गर्न‘पर्ने हुन्छ । सेयर भरेका दोलखाली मध्ये हाल सम्म ३० प्रतिशतले समेत यसरी आफ्नो सेयरलाई डिम्याटमा अभौतिकिकरण गरेका छैनन् । आयोजनाका अधिकारीहरुका अनुसार अभौतिकिकरण नगर्दा तामाकोशीले छिट्टै खुलाउने तयारी गरिरहेको राईट सेयरबाट ठुलो संख्याका दोलखाबासी बञ्चित हुदैछन् । त्यतिखेर दोलखाबासीलाई छुट्याईएको सेयर सबैले सजिलो गरी भर्न पाऊन भनेर तत्कालिन जिल्ला स्तरिय नेतृत्वको दबाबमा आयोजना र बिक्री प्रबन्धक कम्पनीले पछि खाता खुलाएर प्रक्रिया अगाडी बढाउने गरी फोटो, फारम र नागरिकताको भरमा सेयर भराएको थियो । तामाकोशीको बिक्री प्रबन्धक कम्पनी सनराईज क्यापीटलका अनुसार २ लाख ७६ हजार दोलखाबासीले भरेकोमा हाल सम्म ७७ हजार जनाले मात्र सेयरलाई डिम्याट खातामा सारेका छन् । निर्माण सम्पन्न भएर नाफा कमाउन थालिसकेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले राईट सेयर निष्कासन गर्ने तयारी गर्दैछ । राईट सेयर मार्फत आयोजनमा सेयरधनी रहेका जो कोहीले आफुसंग भएको जतिकै सेयर संख्या बराबरको सेयर १ सय रुपैंयामा पाउनेछन् । आयोजनाले प्रभावितबासीका लागी छुट्याएको सेयर २ लाख ७६ हजार दोलखाबासीलाई अत्ति प्रभावित, प्रभावित र कम प्रभावित गरेर ३ ओटा श्रेणी बिभाजन गरी बाँडफाड गरिएको थियो । उनिहरुलाई क, ख र ग गरेर तिन भागमा बिभाजन गरिएको थियो । अत्ति प्रभावित क वर्गका बासिन्दाले १ सय २, प्रभावित ख वर्गका बासिन्दाले ४८ र कम प्रभावित ग वर्गका बासिन्दाले ३४ कित्ता सेयर पाएका थिए । आयोजनाको सेयर बिक्री प्रबन्धक कम्पनी सनराईज क्यापीटलले एक साता अघि दिएको तथ्यांक अनुसार क वर्गका २२ सय, ख वर्गका ५० हजार र ग वर्गका १ लाख ६३ हजार जनाले आफ्नो सेयरलाई डिम्याट खातामा लगेका छैनन् ।