काठमाडौं । विगत वर्षमा वैशाख पहिलो सातादेखि नै जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जंगलमा वर्षा याममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौं समेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जंगलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका टेकबहादुर याखा बताउँछन् । याखा पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आएका छन् । मौसमले साथ दिने हो भने दैनिक दर्जनौं गाडी निगुरो काठमाडौं, पोखरा लगायत शहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले न त कुनै तथ्यांक नै राखेको छ नत चासो नै । कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्यांक नरहेको बताए । व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्यांक राखेको तर जंगलमा आफैं उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्यांक नरहेको तर सामुदायिक वनले तथ्यांक राखेको हुन सक्ने प्रवक्ता पोख्रेल बताउँछन् । कृषिविज्ञ डा.राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उनिउ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउने गरेको बताउँछन् ।