काठमाडौ । हेटौडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् । उमेरले लगभग ८० वर्ष टेके पनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन । उनी अहिले पनि बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त छन् । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेशाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गाजमिन जोड्न समेत सफल भएका छन् । इच्छाशक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रूपमा तिमल्सिनालाई लिन सकिन्छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. ६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्णप्रसादको बिडो माहिला छोरा–बुहारीले थामेका छन् । हेटौडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले यही नाममा यसैको शाखा हेटौडा बजारमा खोलेको पनि २३ वर्ष भइसकेको उनी बताउँछन् । चुच्चेखोलाको व्यवसाय सुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूर्वाद्धमा दुःख–कष्ट र उकाली–ओरालीहरूसँग संघर्ष गर्दागर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाए । चुच्चेखोला अहिले खुवा पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजियामा पाइने बाजेको पेडाजस्तै चर्चित छ चुच्चेखोलाको खुवा । जो कोही जतिबेला पनि चुच्चेखोला पुगियो भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरीकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ । सुरुमा खुवाबारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रूपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रूपमा पनि पुग्ने गरेको तिमल्सिना बताउँछन् । यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ । गोरेटो बाटो रहेकाले उतिबेला हिंडडुल गर्नेहरूको चहलपहल खासै नभएकाले व्यापारको सुरुवाती दिन सम्झिंदा तिमल्सिना भन्छन्, ‘त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।’ आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेशाप्रतिको इमानदारीलाई पनि मर्न दिनु भएन भन्दै निरन्तर लागिरहे । मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उनले यही पेशालाई आफ्नो जीवनको उत्तरार्धसम्म पनि निरन्तरता दिइरहेका छन् । पहिला प्रतिकेजी १५ रुपैयाँसम्म खुवा बेचेको उनी सम्झिन्छन् । अहिले त खुवाको मूल्य प्रति केजी सात सय रुपैयाँ पुगेको छ । पहिलापहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्छन् । खुवाका लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैंसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरू आकर्षित भएपछि खुवाका लागि भैंसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ । छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उनी बताउँछन् । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ ।