काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका २४ का किसान इजहार मियाँ अंंसारी विगत एक महिना देखि बर्खे धान रोपाई गर्न अकाशे पानीको आशमा थिए । लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे । अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको कुरा सुनाए । अँसारी भन्छन्, ’गत वर्षसम्म दुधौरा, बगरी खोलामा बाढीको पानी आउँदा धान रोपाई गर्न प्रयाप्त पानी भएको थियो । यस वर्ष वर्षा पनि थोरै भएको कारणले खोलाबाट पैनमा आउने पानी पनि आएको छैन । बोरिङबाट निकाल्ने पानी सुक्दै गएको छ ।’ पहिला बोरिङबाट पानी तानेर एक दिनमै दुई बिघा खेतामा सजिलैले रोपाई गर्न सकिने भएपनि यो वर्ष बोरिङबाट पानी नआउदा रोपाई गर्न गाह्रो भएको उनले बताए । बोरिङमा लगाइने पम्पी सेटको प्रति घण्टा तीन सय रुपैया भाडा तिर्नु पर्छ । पानी नआउदा एक बिघा क्षेत्रफलमा सिँचाई गर्न १२ हजार जति बढी खर्च तिर्नु पर्ने अवस्था आएको अंसारीले बताए । ब्याडमा बिउँ राखेको २५ देखि ३० दिनसम्मको बिउँलाई खेतमा रोपाई गर्दा धान बढी उत्पादन हुने गरे पनि यस वर्ष पानी अभावमा ५० दिनको बिउँ रोपाई गर्न नसकेर ब्याडमै छोडिएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र कलैया, बाराका प्रमुख जितेन्द्र यादवले बारामा बर्खे धान ४६ हजार हेक्टर क्षेत्रफलमा किसानहरुले गराउने गरेकोमा साउन १२ गतेसम्ममा त्यसको ७५ प्रतिशत मात्रै धान रोपाई गरिएको बताए । कम वर्षाको कारणले गर्दा कतिपय किसानहरुले गरेका धान रोपाई सिचाई अभावमा सुक्ने अवस्थामा पुगेको यादवले बताए । सिमरा विमानस्थल, जल तथा मौसम विज्ञान विभागका प्रविधिक लक्ष्मण प्रसाद कँडेलले गत वर्ष जेठको मध्यदेखि साउन महिनाको मध्यसम्म ६३६ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ४३० मिलिमिटर वर्षा भएको बताए ।
बागमती प्रदेशमा गाडी भाडा घट्यो
काठम डौं । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभर लागु हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो । लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । नयाँ भाडादरको सूची अनुसार बस चढेपछि पहिलो ५ किलोमिटरसम्मको दूरीको भाडा १८ रुपैयाँ कायम भएको छ । यसअघि यो दर १९ रुपैयाँ थियो । त्यस्तै १० किलोमिटरसम्मको दूरीको भाडा २४ रुपैयाँ, १५ किलोमिटर सम्मको भाडा २९ रुपैयाँ, २० किलोमिटरसम्मको भाडा ३२ र २० किलोमिटरभन्दा माथिको भाडा दर ३७ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागु गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।