काठमाडौं । म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको बताए । स्थानीय तहहरूले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रम मार्फत आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम चलाइएको थियो । खेती गर्ने र भित्र्याउने समयमा अनुकूल मौसम र रोग किराको समस्या नभएकाले पनि आलुको उत्पादन गत वर्षको तुलनामा बढेको अन्नपूणर् गाउँपालिका-८ राम्चेका कृषक फासबहादुर पुर्जाले बताए । उनले एउटै दाना एक किलो बराबर तौल भएको आलु उत्पादन भएको बताए । म्याग्दीको तल्लो क्षेत्रमा हिउँदे र उच्च पहाडी लेकाली क्षेत्रमा बर्खे आलु खेती हुन्छ । अन्नपूणर् गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिंदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धौलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् । नागी राम्चेबाट वार्षिक दुई करोड रुपैयाँ मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौं लगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ । उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिकटनभन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी ५० देखि एक सय रुपैयाँसम्ममा कृषकले आलु बेच्ने गरेका छन् । व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्छन् । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा गाउँपालिकाको ६, ७ र ८ र अन्नपूणर् गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ । कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगंगा गाउँपालिका-८ कुइनेमंगले र मंगलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो ।