काठमाडौं । सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर, आठमहिना (जनवरी-अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या ६ लाख नाघेको छ । अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ६७ हजार १ सय ५३ रहेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अबको समय पर्यटनको मुख्य सिजन भएकोले पनि पर्यटक आगमन हुने भएकोले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने बताउँछन् । यसअघि सन् २०१९ मा नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिएका थिए । कोरोना भाइरस संक्रमण अघिको त्यो वर्षको अगष्ट महिनामा नेपालमा ९४ हजार ७४९ जना विदेशी पाहुना भित्रिएका थिए । सरकारको लक्ष्य पुरा गर्न अब चारलाख विदेशी पर्यटक भित्रिनुपर्ने भएपनि त्यो संख्या पुरा हुने लामिछानेको दावि छ । अबको समय पर्यटनको मुख्य सिजन भएकोले पनि पर्यटक पर्याप्त मात्रामा नेपाल भित्रिनेछन् । त्यस्तै अबको समयलाई पदयात्राको सिजन पनि मानिने भएकोले पदयात्राका लागि पर्यटक आउने उनको भनाई छ । गौतमबुद्धमा उडान हुँदा लुम्बिनीका लागि पर्यटक बढ्ने अपेक्षा रहेको उनले बताए । बोर्डका अनुसार कोरोना भाइरस संक्रमणका कारण २०२० देखि पर्यटक आगमन ओरालो लाग्न थालेको थियो । सन् २०२२ का अगष्ट महिनाको आगमन ४१ हजार ३ सय ४ थियो । कोरोनाले त्रसित बनाएको बेला २०२१ अगष्ट महिनाको आगमन जम्मा ६ हजार ९३ थियो । नेपालमा गत जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३, मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका थिए । त्यसैगरि जुन महिनामा ७२ हजार २ सय ५० र जुलाईमा ५७ हजार ७ सय २६ जना भित्रिएका थिए । अगष्ट महिनामा भित्रिएका ६७ हजार १ सय ५३ सहित नेपाल भित्रिएका पाहुनाको संख्या ६ लाख १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो अगष्टमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय रहेका छन् । यो महिनामा नेपाल भित्रिने भारतीयको संख्या २६ हजार ६ सय ६५ रहेको छ । दोश्रोमा चिनियाँ पाहुनाको आकार ठुलो छ । अगष्ट महिनामा ५ हजार २७ जना चिनियाँ पाहुना भित्रिएका छन् । त्यस्तै यो महिनामा भित्रिने अमेरिकी पाहुनाको संख्या ४ हजार ६ सय २९ रहेको छ । अगष्ट महिनामा ३ हजार ८ सय ५८ जना श्रीलंका र ३ हजार १ सय ९० जना बंगलादेशका पाहुना भित्रिएका छन् ।