काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको आठ महिना पुरा भएको छ । जनवरी १ (२०२३) देखि विमानस्थल औपचारिक रुपमा संचालनमा आएको थियो । अन्तर्राष्ट्रिय भएपनि विमानस्थल अहिलेसम्म आन्तरिक उडानमा मात्र सिमित थियो । अन्तर्राष्ट्रिय उडानको पहल भईरहेपनि अहिलेसम्म नियमित उडानको यकिन नभईसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बताइरहेको छ । आन्तरिक उडानको भरमा विमानस्थल संचालनमा रहिरहँदा भुटानको ड्रुुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म उडान गर्दैछ । पोखरामा ड्रुकको जहाज अवतरणपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको दोश्रो अवतरण हुनेछ । यसअघि चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सिचुआनको जहाजपछि ड्रुक आउन थालेको हो । सिचुआनको पनि चार्टर्ड उडान थियो । ड्रुकले उडान गरेपनि यो पनि चार्टर्ड नै हो । ड्रुकले चार्टर उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ । तर, त्यो पनि नियमित कमाई भने होइन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार चार्टर भएपनि ड्रुकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलोपटक आम्दानी दिलाउँदैछ । संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दानी गुमाईरहेको थियो । यसअघि सिचुआन एयरलाईन्सले उडान भरेपनि त्यो उडानको जहाज फर्किदा यात्रु थिएनन । सिचुआनले पोखरा आउँदा यात्रु ल्याएपनि फर्किँदा रित्तै गएको थियो । अन्तर्राष्ट्रिय उडानबाट कमाई नभएपनि आन्तरिकबाट भने विमानस्थलले आम्दानी गरिरहेको उनले बताईन । विमानस्थलले एकवर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्याण्डिङ, पार्किङ लगायतमा शुल्क मिनाहा गरेको छ । त्यसैले ड्रुकको थप जहाजबाट आम्दानी हुँदैन । तर, त्यही जहाज चढेर फर्किने यात्रुले तिरेको विमानस्थल कर भने आम्दानी हुने उनले बताईन । श्रोतका अनुसार ड्रुकको यो जहाजमा ११८ जना यात्रु पोखराबाट उडेर पारो जाँदैछन् । तर पारोबाट पोखरामा कतिजना आउँदैछन् भन्ने यकिन छैन । अन्तर्राष्ट्रिय उडानमा यात्रुले प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले विमानस्थल कर तिर्नुपर्ने सुवेदीले बताईन । उनका अनुसार पारोबाट पोखरा आएको जहाज त्यहिदिन एकघण्टा पछि पोखराबाट सिधै पारोका लागि उडान भर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत परेको छ । ठूलो लागत परेको विमानस्थलको आम्दानी भने कम हुँदा त्यसले विमानस्थलको खर्च समेत धान्न नसक्ने अवस्था रहेको केहीदिन अघि पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले पनि बताएका थिए । गत सोमबार पोखरामा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब सावाब्याज तिर्नेुपर्ने भएपनि त्यो कमाउन नसकेको बताएका थिए । विमानस्थलले संचालन खर्च समेत जुटाउन नसकेको पनि अर्थमन्त्री महतको भनाई थियो ।