काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा यो वर्ष करिब ५५ करोड रूपैयाँको स्याउ फलेको बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ । किसानले प्रतिकिलो एकसय रूपैयाँका दरले बेचे पनि करिब ५५ करोड रूपैयाँ यसपटक मुस्ताङले स्याउबाट मात्र भित्र्याउने उनले बताए । भट्टका अनुसार यसपटक भने उत्पादनमा केही गिरावट आएको छ । यो वर्ष २० प्रतिशत उत्पादन घट्ने अनुमान रहेको उनले बताए । यसपटक स्याउ उत्पादन घट्नुमा मुख्य कारण बेलैमा हिउँ नपर्नु मुख्य रहेको उनले बताए । त्यसबाहेक फूल फुल्ने बेलामा पानी पर्दा पनि असर परेको हो । पानी पर्दा परागसेचन हुन नपाएर उत्पादनमा कमी भएको भट्टले बताए । अबको केही दिनमा बजारमा मुस्ताङको स्याउ आउँदै छ । गुलियोपना कम हुने भन्दै असोज १ अगाडि स्याउ टिप्न नपाइने निणर्य जिल्लामा भएकाले असोज १ पछि मात्र हिमाली जिल्लाको स्याउ बजारमा आउनेछ । यसपटक बेलैमा हिउँ नपर्दा उत्पादनमा भने केही कम हुने आँकलन गरिएको छ । केही वर्ष अघिसम्म त्यहाँ भदौ पहिलो साता नै स्याउ टिप्ने गरिएको थियो । तर, राम्रोसँग पाक्न नपाउँदै टिप्दा त्यसको वास्तविक स्वाद नपाइएको भन्दै पछिल्लो दुई वर्षदेखि स्याउ टिप्ने समय तोक्न थालिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका अनुसार यो वर्ष असोज १ पछि मात्र मुस्ताङको स्याउ टिपेर बजार ल्याउन पाइनेछ । टिप्नुअघि नै ठेकेदारले बगैंचाबाटै स्याउ खरिद गरिसकेको भए पनि टिप्न भने थालिएको छैन । जिल्ला समन्वय समिति, स्थानीय तह र किसानसहितको भेलाले यसपटक असोज १ देखि मात्र स्याउ टिप्न पाउनेगरी समय तोकिदिएको परियोजनाका सूचना अधिकारी नेत्रप्रसाद भट्टले जानकारी दिए । चाडबाडको मौका पारेर धेरै बिक्री हुने लोभमा काँचैमा टिपेको स्याउको स्वाद हराएको भन्ने गुनासो आएपछि असोज १ गतेदेखि मात्र टिप्न पाउनेगरी जिल्लास्तरमा निणर्य भएको उनले बताए । पोहोर भदौ २५ देखि मात्र स्याउ टिप्न अनुमति दिइएको थियो । अघिल्ला वर्षमा त भदौ पहिलो साता नै टिप्ने पनि गरिन्थ्यो । पाक्न नपाउँदै टिपेको स्याउमा स्वाद र गुलियोपन नभएको गुनासो उपभोक्ताले गरेपछि पोहोरदेखि समय तोक्न थालेको उनले बताए । मुस्ताङको स्याउ देशभर प्रख्यात छ । चिसो हावापानी भएको भूगोलमा फल्ने भएकाले मुस्ताङको स्याउले उपभोक्ताको मन जितेको हो । तर पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आउने गरेको थियो । सूचना अधिकारी भट्टका अनुसार ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘किङरोट’ ब्रान्डको स्याउ भने यतिबेला नै पाकिसकेको छ । केही किसानले टिप्न पनि थालिसकेका छन् । हाई डेन्सिटीमा गाला, किङरोट, गोल्डेन डेलिसियस, फुजी, र जोनाप्रिन्स जातको स्याउ हुन्छ । अरूभन्दा केही समय छिटो पाक्ने यो स्याउ टिप्न योग्य भइसकेको छ । उनका अनुसार हाई डेन्सिटी एक मिटरको फरकमा रोपिने जात हो । यो जातको विरुवा एक रोपनीमा झन्डै २ सय वटा रोपेर स्याउ फलाइन्छ ।