काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ सातबडाकी ४९ वर्षीय कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ । भदौको २६ गतेदेखि उनलाई नेपालगन्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो । यी महिला व्यापारीले किलोको एकसय दश रुपैयाँदेखि एकसय ४० रुपैयाँसम्ममा जुम्लाको स्याउ बिक्री गरिरहेका छन् । जुम्लाको हावापानीमा फलेको रसिलो र मिठो स्याउ खरिद गर्न बिहानैदेखि नेपालगन्जको धम्बौझीमा चोकमा उपभोक्ताहरूको भीड छ । बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेसम्मले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले व्यापारीहरू यही समयमा चोकमा स्याउ लिएर बस्ने गरेका छन् । व्यापारी कर्मकन्या नेपालगन्जको धम्बौझी चोकमा कार्टुनमा स्याउ राखेर बस्छिन् । ‘बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुङ्गो हुँदैन । ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु’, कर्मकन्या भन्छिन् । असोजको दोस्रो हप्तासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताएकी उनी अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएको पनि बताउँछिन् । अहिलेसम्म २० कार्टुन स्याउ बिक्री गरी सक्नुभएकी कर्मकन्या स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको जानकारी दिइन् । ‘स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन । यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु । नाफा घाटाको हिसाब असोजको दोस्रो हप्तामा गर्ने हो’, उनले भनिन् । कर्मकन्याजस्तै सोही गाउँपालिका-६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेपालगञ्ज झरेकी हुन । उनले भदौको २५ गते तीन सय त्रिचालिस पेटी स्याउ लिएर नेपालगन्ज आएकी हुन । हालसम्म तीन सय तीन पेटी स्याउ बिक्री गरी सकेको राजकन्या बताउँछिन् । एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छिन् । अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना जानकारी दिँदै राजकन्या स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बत्ताउँछिन् । यो समयमा नेपालगन्जको मुख्य चोक धम्बौझी, कारकाँदो, सेतु विक, पुष्पलाल, गणेशमान, बसपार्क लगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन् । जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन् ।