काठमाडौं । गण्डकी प्रदेशमा ४ लाख १२ हजार कृषक परिवार रहेको तथ्यांक कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणनामा गण्डकी प्रदेशमा १ लाख ७३ हजार हेक्टर जमिनमा कृषि हुने गरेको छ । तथ्यांक कार्यालयका अनुसार कास्की जिल्लामा ५३ हजार २ सय २८ कृषक परिवारले १९ हजार १ सय ६४ हेक्टरमा कृषि कार्य गर्ने गरेका छन् । कास्कीमा ५३ हजार २ सय २८ कृषक परिवार छन् भने १९ हजार १ सय ६४ हेक्टर जमिनमा कृषि कार्य हुने गरेको छ । कृषिमा महिलाको नेतृत्व पनि बढेको तथ्यांकले देखाएको छ । तथ्यांक कार्यालय गण्डकीका अनुसार गण्डकीमा ६५.९ प्रतिशतको आम्दानीको मूल श्रोत कृषि रहेको जनाइएको छ । कास्कीमा भने ४९.२ प्रतिशतको आम्दानीको मूल श्रोत कृषि छ । त्यस्तै, कृषिबाट वर्षभरी खान पुग्ने कृषक परिवारको संख्या गण्डकीमा ३५ प्रतिशत र कास्कीमा ३९ प्रतिशत रहेको तथ्यांक कार्यालय गण्डकी प्रदेशका संयोजक बद्री कार्कीले जानकारी दिए । गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन् । तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ । हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन् । यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएका थिए । हरेक दश वर्षमा गरिने राष्ट्रिय कृषि गणना २०७८ सालकै भएकाले त्यसबेलाको तथ्यांकलाई अहिले सार्वजनिक गरिएको कार्यालय प्रमुख कार्कीको भनाई छ । गण्डकीका कृषकले दोश्रो प्रमुख मागका रुपमा सिंचाई सुविधा राखेका छन् । यस्तो माग राख्नेको संख्या ४८ प्रतिशत छन् भने कृषि प्राविधिक सेवा सहज र शुलभ हुनुपर्ने तथा तालिमको व्यवस्था हुनुपर्ने माग गर्ने कृषक परिवारको संख्या २७/२७ प्रतिशत छ । कृषि गणनाका समयमा १८ प्रतिशत कृषकले उन्नत नश्ल र उन्नत बिउ बिजन उपलब्ध गराउन माग गरेका छन् भने १२ प्रतिशतले उत्पादनको उचित बजार व्यवस्थापन हुनुपर्ने बताएका छन् । गण्डकीमा बिमामा पहुँच रहेको कृषकको संख्या ६.८ प्रतिशत मात्र रहेको छ । कृषि र पशुमा सरकारले ७५ प्रतिशतसम्म प्रिमियम अनुदान दिने गरेपनि विमा गर्ने कृषकको संख्या अत्यन्त न्यून देखिएको हो । कास्कीमा भने विमा गर्ने कृषकको संख्या ८.३ प्रतिशत रहेको तथ्याङ्क कार्यालय गण्डकीले जनाएको छ । देशमा परिवारको संख्या ५४ लाखबाट बढेर साढे ६६ लाख पुगेको राष्ट्रिय तथ्यांक कार्यालयका उपनिर्देशक जग्गुलाल बस्यालले जानकारी दिए । परिवार संख्या बढेपनि कृषि गर्ने परिवार भने तीन लाख मात्र थपिएको उनले बताए । उनका अनुसार कृषि गणनामा पछिल्लो १० वर्षमा हिमालमा २१.७, पहाडमा १९.७ र तराईमा ११ प्रतिशतले कृषियोग्य भूमि घटेको छ । गण्डकीमा ट्रयाक्टरको प्रयोग गरेर कृषि गर्ने कृषकको संख्या २४ प्रतिशत, हलो प्रयोग गर्ने १५.५ प्रतिशत, पावर ट्रिलर प्रयोग गर्ने कृषकको संख्या १७.८ प्रतिशत रहेको जनाइएको छ । जबकी कास्कीमा हलो १६ प्रतिशत, ट्याक्टर ३८ प्रतिशत र पावर ट्रिलर २४.७ प्रतिशतले प्रयोग गर्नेगरेको तथ्याङ्क रहेको बस्यालले जानकारी दिए । तथ्याङ्क कार्यालयका अनुसार गण्डकीमा गोरुको संख्या साढे २ लाख, राँगाभैंसीको संख्या ४ लाख ४८ हजार, बाख्रा खसी १५ लाख ७८ हजार, सुंगुर, बंगुर १ लाख ३४ हजार रहेको जनाइएको छ ।