काठमाडौं । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज-मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूणर् संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । ‘चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्’, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भने, ‘मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीयको संख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शन भ्रमणका लागि आउँछन् ।’ उनले कोभिड-१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन विस्तारै लयमा फर्किरहेको बताए । अघिल्ला वर्षको तुलनामा मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल भने केही घटेको पाइएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे । गत वर्षको तुलनामा आन्तरिक पर्यटक मुस्ताङमा धेरै कम भित्रिएको जोमसोमस्थित होटल सिर्जना होटल एण्ड थकाली भान्छाघरका सञ्चालक मनगुना थकालीले बताएका छन् । मुस्ताङ जोड्ने सडक कमसल हुँदा पनि पर्यटकको आवागमन सहज हुन नसकेको थकालीले बताएका छन् । मुख्य याममै पर्यटक कम आएपछि मुस्ताङ र आसपासका होटल तथा पर्यटन व्यवसायी चिन्तित छन् । म्याग्दी हुँदै सडकमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेको अन्नपूणर् संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रबिन कडरियाले बताएका छन् ।