काठमाडौं । नेपालका जलविद्युत् आयोजनाबाट करिब साढे २८ सय मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट उत्पादित बिजुलीको कुल जडित क्षमता साढे २८ सय मेगावाट हाराहारीमा पुगेको हो । चालु आर्थिक वर्षमा असोज मसान्तसम्मको अवधिमा नेपालमा कुल जडित क्षमता दुई हजार आठ सय ४७.१३ मेगावाट क्षमता पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । व्यावसायिक रूपमा उत्पादन गर्ने आयोजनाबाट उत्पादित क्षमता भने २८ सय ३६.९३ मेगावाट रहेको छ । अहिले परीक्षण प्रसारण भइरहेका दुई जलविद्युत् आयोजना अपरसुरी र गेलुन हाइड्रोपावर आयोजनासहित जोड्दा कुल जडित क्षमता २८ सय ४७.१३ मेगावाट पुगेको हो । कुल जडित क्षमता २८ सय ३६.९३ मेगावाटमध्ये निजीक्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा १६९७.४९ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाबाट ६६१ मेगावाट र प्राधिकरणको सहायक कम्पनीबाट ४७८.१० मेगावाट बिजुली उत्पादन भएको छ । गत आवको २०७९/८० को असार मसान्तसम्मको अवधिमा कुल जडित क्षमता २६ सय ८४ मेगावाट पुगेको थियो । सोमध्ये प्राधिकरण मातहतको आयोजनाबाट ६६१ मेगावाट, प्राधिकरणको सहायक कम्पनीबाट चार सय ७८ मेगावाट र निजी क्षेत्रबाट १५ सय ४५ मेगावाट बिजुली उत्पादन भएको थियो । चालु आवको तीन महिनामा १४३.२३५ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा सात वटा जलविद्युत् आयोजनाबाट १४३.२३५ मेगावाट बिजुली थप भएको हो । गत साउन यता गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीले ०.९७ मेगावाट क्षमताको घट्टे खोला साना जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ । यो आयोजनाले साउन १३ गतेदेखि व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै आइरहेको छ । त्यसैगरी ग्लोबल हाइड्रोपावर एसोसिएसन प्रालिले पनि ५२.४६५ मेगावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ । त्यसैगरी रिभरफल्स हाइड्रोपावर डेभलपमेन्ट प्रालिले निर्माण गरेको डाउन पिलुवा १०.३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ । सो जलविद्युत् आयोजनाले साउन २५ गतेदेखि व्यावसायिक रूपमा बिजुली उत्पादन गर्न थालेको हो । अपि पावर कम्पनी लिमिटेडको अपर चमेलिया ४० मेगावाट क्षमताको बिजुली पनि साउन २८ गते राष्ट्रिय ग्रिडमा जडान भएर व्यावसायिक उत्पादन गर्दै आइरहेको छ । भूगोल हाइड्रोपावर प्रालिले निर्माण गरेको अपर सानीगाड १०.७ मेगावाट आयोजना पनि राष्ट्रिय ग्रिडमा जडान भएको छ । सो आयोजना गत भदौ २ गते राष्ट्रिय ग्रिडमा जडान भएको हो । म्यादी हाइड्रोपावर प्रालिले निर्माण गरेको १४ मेगावाट क्षमताको घरखोल जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय ग्रिडमा जडान भएको छ । सो आयोजनाले भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आइरहेको छ । यस्तै सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको अपर सान्जेन परियोजनाले पनि १४.८ मेगावाट विद्युत् असोज २१ गतेदेखि व्यावसायिक तवरले उत्पादन गर्दै आइरहेको छ ।