काठमाडौं । मनाङ जिल्लाको गाउँघर अहिले पूणर् रूपमा हिउँ नै हिउँले ढाकेको छ । लेकको खर्कबाट बेंसी झारिएको चौंरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याकचौंरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् । पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैं यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ । हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् । यही गोठवरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउँछिन् । सानो उमेरदेखि नै गोठ र याकचौंरीसँगै जीवन गुजार्दै आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘चौंरी जता हामी पनि उतै जान्छौं । चौंरीसँगै जीवन गुजारा चलाउँदै गएका छौं । हाम्रो त छोराछोरी जस्तै हो याकचौंरी । यिनीहरूको स्याहारसुसारमै जीवन बितेको छ । हामी बूढाबूढी र चौंरी नै अहिलेका लागि समाज भएको छ । ‘बेंसीसहरबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उनी सुनाउँछन् । त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामा चौंरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताउँछन् । उनी भन्छन्, ‘याकचौंरीको स्याहारसुसार गर्दागर्दै जीवन गुज्रिँदै गएको थाहा पाइएन । यही काम गर्दागर्दै बिहे भयो, बालबालिका जन्मिए र हुर्कायौं पनि । अहिले हामी गोठमा छौं । तर छोराछोरी काठमाडौं पठनपाठनका लागि पठाएका छौं ।’ १३ वर्षको उमेरदेखि गोठमा बस्न थालेका निङ्मा सोनाम गोठ सार्दासार्दै बिहे भएको अनुभव सुनाउँछन् । चिसो छल्न जान त मन लाग्ने तर यी पशुचौपाया छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘गोठसँगै जोडिएको छ हाम्रो जीवन । गोठमै बच्चा जन्माएर हुर्कायौं । अहिलेसम्म पनि हामी गोठ र याकचौंरीसँगै छौं । तर, याकचौंरीपालन छाड्न सकेका छैनौं । हाम्रा बालबालिकाजस्तै गरी माया गरे त आम्दानी लिन सकिन्छ नि ! आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने । त्यसैले गरिरहेका छौं ।’ याकचौंरी बेचेरै जीविकोपार्जन चलाउँदै आएको उनी बताउँछन् । मुख्य आयस्रोत नै याकचौंरी भएको उनी बताउँछन् । पहिले याकचौंरीलाई २५ हजारदेखि ३५ हजारमा बिक्री गरिन्थ्यो । तर अहिले याकको एक लाख ५० हजारसम्म र चौंरीको ९० हजार रुपैयाँसम्म मूल्य पाउने गरेको उनी बताउँछन् । यहाँका पशुपालक किसानको आयस्रोत नै याकचौंरी हो । त्यसैगरी, फुगाउँका कर्म तेन्जिङ हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायाको स्याहारसुसारमा व्यस्त रहेको बताउँछन् । पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उनी बताउँछन् । मनाङका अन्यत्र क्षेत्रमा याकचौंरीका छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उनी सुनाउँछन् । फुगाउँका ङिमा एन्जो लामा भन्छन्, ‘हामी त यहींबाट लुगा र दोचा बनाउँछौं । अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन् । हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन् । लगाउन पनि रुचाउँदैनन् ।’ अहिले त जमाना फेरिएको उनी बताउँछन् । हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेंसीमा गोठ झारे पनि गोठमै व्यस्त छन् । मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन्, तर चौंरीपालक किसान भने गोठमै रहन्छन् । किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै ।