काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखा पुगेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा सिइओ पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताएका छन् । उनले बैंकिङ सेवाको पहुँच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रूपमा उपलब्ध हुने बताएका छन् । हाल बैंकले दुई सय ६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आइरहेको छ । यसैबीच लुम्बिनी विकास बैंक लिमिटेडले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आव २०७९-८० को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरूसँगै शेयरधनी महानुभावलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष श्रीचिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभामा आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सामूहिक रूपमा उत्तर दिएका थिए । देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालय, एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालन भइरहेका छन् ।