काठमाडौं । पोखराको आकाशमा पर्यटकलाई सयर गराउँदै आएको हट एयर बेलुनलाई हालको भन्दा तीनगुणा बढी उचाईमा उडान अनुमति दिइएको छ । यसअघि पोखरामा जमिनको सतहदेखि ३ हजार फिटमाथिसम्म मात्र उडान गर्ने अनुमति पाएकोमा अब भने ९ हजार फिटसम्म हट एयर बेलुनले उडान गर्न सक्नेछ । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी दिएका छन् । पहिला ३ हजार फिटसम्म मात्र उडान अनुमति रहेकोमा पछिल्लो पटक ९ हजार फिटसम्म उड्न अनुमति पाएको बाडेले बताएका छन् । बेलुन नेपालले अबको तीनमहिना भित्र स्काई डाइभ पनि गर्न मिल्ने गरि उचाई बढाउनका लागि सरकारसँग अनुमति माग गरेको थियो । थप उचाइ लिएपछि अन्नपूणर् हिमश्रृंखला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बाडेले बताएका छन् । पोखराको फेवातालको सिरान क्षेत्रमा पर्ने लौरुकदेखि चंखपुर क्षेत्रमा यसले उडान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग समन्वय गरेर उडान अनुमति प्रदान गरिएको पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेशले डंगोललाई उधृत गर्दै कम्पनीले बताएको छ । उडानस्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययन पछि अनुमति पाएको बाडेले बताएका छन् । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हटएयर बेलुन । नेपालमा पोखरामा मात्रै सञ्चालित हटएयर बेलुन साहसिक पर्यटकीय प्रडक्टका रुपमा पहिचान कमाएको छ । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् ।