काठमाडौं । सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणको भार परेको अर्थविद्हरुले बताएका छन् । नेपाल व्यवस्थापन संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले आन्तरिक ऋण लिँदा मुलुक भित्रै बस्ने र विदेशी ऋण लिँदा सावाँ ब्याज डलरमा भुक्तानी गर्नुपर्ने अवस्थाले समस्या भइरहेको बताएका छन् । अर्थविद्हरुले सरकारले सहजताको लागि आन्तरिक ऋण लिने गरेको बताएका छन् । उनीहरुले सरकारले विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा परिचालन गर्नुपरेको अवस्था रहेको बताएका छन् । सरकारले वैदेशिक लगानी धेरै ल्याउनसके आन्तरिक ऋण कम हुने दाबी उनीहरुको छ । उनीहरुले अहिले अर्थमन्त्रीलाई राजश्वको दायरा नबढाउन, करका दर हेरफेर नगर्ने तर सांसदहरुले भनेका आयोजनाहरु समावेश गरेर बजेटको आकार ठूलो ल्याउन दबाब आउने भन्दै अर्थमन्त्रीले त्यो गर्न सम्भव नभएको बताएका छन् । अर्थविद् केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारण नै आन्तरिक ऋणको दबाब रहेको बताएका छन् । उनले विदेशी ऋण लिदा सरकारले बनाएका योजनाहरुको लेखापरीक्षणपछि सोधभर्ना बाफतको रकम फिर्ता आउने भएपनि लिन नसकेको बताएका छन् । उनले अहिले पनि त्यस्तो ५० अर्ब रुपैयाँ बराबरको शोधभर्ना लिन बाँकी भएपनि सरकारले लिन नसकेको उल्लेख गरेका छन् । उनले शोधभर्ना बापतको ५० अर्ब रुपैयाँ उठाउनसके आन्तरिक ऋण कम हुने बताएका छन् । अर्थविद् आचार्यले सरकारले लिने विदेशी र आन्तरिक ऋणमा पनि अन्तरसम्बन्ध हुने गरेको बताएका छन् । कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले वैदेशिक लगानी ल्याउन नसक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।