काठमाडौं । पछिल्लो समय चितवन जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले दूध उठाउने गरेकोमा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ । बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले बताएका छन् । सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उनले आरोप लगाएका छन् । रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा उद्योग बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताएका छन् । उनका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डिडिसी)ले दूध उठाउने बताएका छन् । निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उनको भनाइ थियो । दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाहरूले चासो दिन नसकेको सङ्घले जनाएको छ । दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने उनले बताएका छन् ।