काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका अधिकांश गृहिणी घरमै गलैंचाको तानमा भेटिन्छन् । घरायसी कामबाट फुर्सद निकाल्दै उनीहरूले घरमै गलैंचा बुनेर मासिक २० देखि ३० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । विशेषगरी तामाङ, चेपाङ लगायतको जनजाति समुदायको बसोबास रहेको यस गाउँमा महिलासँगै केही पुरुष पनि गलैंचा बुन्ने काममा लाग्ने गरेका छन् । उनीहरूले बनाएको गलैंचा काठमाडौं पुग्ने गरेको छ । घरबारीको काम गरेर महिनामा दुईदेखि तीनवटासम्म गलैंचा बुन्ने गरेको स्थानीय ज्ञानुमाया थिङले जानकारी दिइन् । काठमाडौंका व्यवसायीले गाउँमै आएर गलैंचा किन्ने गरेका छन् । एउटाको ८ देखि १० हजार रूपैयाँसम्ममा लैजाने गरेका छन् । ‘ठेकेदारले नै डोरी धागो सबै ल्याइदिन्छन् । जति उत्पादन गरे पनि बेच्न कुनै समस्या छैन’, थिङले भनिन्, ‘उनीहरूले ल्याइदिएको सामानले घरमा बसेर गलैंचा तयार पारिदिन्छौं । घरमै पैसा आइपुग्छ ।’ महिनाको २५ देखि ३० हजार रूपैयाँसम्म कमाइ हुने गरेको उनले सुनाइन् । चुवारपाखाकी दिलमाया प्रजाले गलैंचाबाट हुने कमाइले घर व्यवहार टार्नुका साथै बालबालिकाको पढाइमा समेत सहयोग भएको बताइन् । गलैंचाको काम गर्नेहरूलाई कुनै पनि संघसंस्थाबाट सहयोग भने नभएको उनीहरूको गुनासो छ । अरू महिलाहरूलाई पनि गलैंचा बुन्ने सिप सिकाउन पाए राम्रो हुने प्रजाको भनाइ छ । उनीहरूले उत्पादन गर्ने गरेको गलैंचा २० वर्षसम्म टिक्ने गरेको छ । मनहरी गाउँपालिका ४ का अध्यक्ष प्रकाश थापाले मसिने चुवारपाखाका करिब ६० प्रतिशत महिला र केही पुरुष घरमै गलैंचा बुन्ने काममा आबद्ध भएको जानकारी दिँदै यसले जनजाति समुदायलाई राहत मिलेको बताएका छन् ।