काठमाडौं । सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ । सर्लाहीका चिनी उद्योगले किसानको उखु तान्न अनेक उपाय गर्न थालेको पाइएको छ । सर्लाहीको हरिहवनमा रहेको इन्दुशंकार चिनी उद्योग र बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले पहिलेदेखि नै क्रसिङ गरिरहेको भए पनि धनकौलस्थित अन्नपूणर् चिनी उद्योग पनि सञ्चालनमा आएपछि किसानलाई उखु बेच्न सजिलो भएको हो । गत वर्षको तुलनामा केही मात्रामा उखु खेती बढेको र उखुले केही राम्रो मूल्य पाउनुका साथै भुक्तानी पनि समयमै पाइरहेको अवस्थामा तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानलाई उखु बेच्न अझ सजिलो भएको हो । पहिलेदेखि हरिवन र बगदहमा रहेका चिनी मिलहरु सञ्चालनमा आएका थिए तर केही समय पहिले मात्र धनकौलको चिनी मिल पनि सञ्चालनमा आएको हो । धनकौलस्थित अन्नपूणर् चिनी मिलले किसानको भुक्तानी नै दिन आनाकानी गर्ने गरेको तथा कम्तीमा पाँच वर्षदेखिको उखुको रकम भुक्तानी दिन बाँकी रहेको किसानको दाबी रहेको छ । पुरानो बाँकी पैसाको भुक्तानी नदिँदासम्म उद्योगलाई उखु नदिने भनेका किसानहरुले पनि धनकौल चिनी उद्योगलाई पुनः उखु बेच्न बाध्य भएका छन् । गाउँको नजिकका किसानले उब्जाएको उखु अन्यत्र दिँदा समाजमा नराम्रो प्रभाव जाने भएकाले किसानहरुले बाध्यतावश अन्नपूणर् चिनी उद्योगलाई उखु बेचेका हुन् । अन्नपूणर्मा सीमावर्ती भारतीय गाउँको उखु संकलन केन्द्रबाट भारतीय उखु पनि पर्याप्त प्राप्त भइरहेको बताइएको छ । भारतबाट आएको उखुले अन्नपूणर् चिनी मिल धानिएको आरोप केही मानिसको रहेको छ । अन्नपूणर् चिनी उद्योगले पुरानो पैसा बाँकी राखेर अहिले उखु बेच्ने किसानलाई तत्काल भुक्तानी दिने नयाँ रणनीति अपनाएको छ । उद्योगका सञ्चालक रमेश श्रीवास्तवले किसानका पैसा भुक्तानी दिन केही समस्या भएकाले उद्योगको समस्या किसानले बुझेर सहयोग गर्नुपर्ने बताएका छन् । चिनी उद्योग उखु किसानकै भरमा चल्ने उद्योग भएको र उद्योग सञ्चालनमा रहे किसानले नै फाइदा लिने बताउँदै सञ्चालक श्रीवास्तवले उखु किसानले बुझेर सहयोग गरिरहेको प्रतिक्रिया दिएका छन् । सर्लाहीमा लगाइएको उखुको करिब साठी प्रतिशत उखु चिनी उद्योगहरुले किनिसकेका छन् । लगातार दुई उद्योगले किसानको उखु किन्दै भुक्तानी गरिरहेको अवस्थामा तेस्रो उद्योग पनि सञ्चालनमा आएपछि सर्लाहीका किसानका उखु छिटै बिक्री हुने सम्भावना बढेको धनकौलका किसान मनोहर यादवले बताएका छन् ।