काठमाडौं । काठमाडौं (नेस) । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित नवनिर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । समारोहमा सभापति देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिन लगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सभापति देउवाले व्यापारलाई सहजीकरण गरी पारदर्शिता अभिवृद्धिमार्फत निर्यात प्रवद्र्धनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताएका छन् । बन्दरगाहले काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजता प्रदान गर्न र वस्तु वा सेवाको लागत घटाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने उहाँको भनाइ छ । नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने सभापति देउवाले बताएका छन् । मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलितरूपमा विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूणर् संरचना भएको देउवाले बताएका छन् । उहाँले आर्थिक वृद्धिको इन्जिन मानिने अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा यस प्रकारका संरचना निर्माणको खाँचो रहेको औंल्याएका छन् । सभापति देउवाले नेपालको औद्योगिक वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यातमार्फत व्यापार घाटा कम गर्न सकिने बताएका छन् । साथै स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने र त्यसले देशमा औद्योगिक विकास र रोजगारीको सिर्जनामा सहयोग पुग्ने उहाँले बताएका छन् । मुलुकमा लगानी र औद्योगिक विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको, आवश्यक पर्ने नीतिगत र प्रक्रियागत संरचनाको सुधारका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने समारोहमा सभापति देउवाले विश्वास दिलाएका छन् । वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई सरलीकरण र न्यूनीकरण गर्दै लैजानु पनि जरुरी रहेको उहाँले बताएका छन् । त्यसका लागि सरकार समस्या समाधान गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँले बताएका छन् । उहाँले व्यापार घाटा कम गर्न नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको स्वदेशी कच्चापदार्थमा आधारित उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउने र अनुत्पादक र विलासिताका वस्तुलाई व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूणर् उद्योग व्यवसायीलाई आह्वान गरेका छन् । सभापति देउवाले यस पूर्वाधारको पूणर् क्षमतामा सञ्चालन गरी कुशल व्यवस्थापन गर्न सकिए उद्देश्य पूरा हुनेसमेत बताएका छन् ।