काठमाडौं । पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन हराउँदै छ । प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन् । हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको संख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ । सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सी उपयोग गर्दछन् । परालको गुन्द्रीसँगै सीमान्तकृत दरै (दराई) समुदायले प्राकृतिक तथा जैविक कच्चा पदार्थ प्रयोग गरी गुदको गुन्द्री बुन्ने गर्दछन् । तनहुँको व्यास नगरपालिका- १ भादगाउँका ६८ वर्षीया मनसुलीमाया दरैले सानो उमेरदेखि गुदको गुन्द्री बुन्दै आएको बताइन् । उनले भनिन्, ‘साउन अन्तिमदेखि कात्तिकसम्म गुद संकलनका लागि विभिन्न स्थानमा जानुपर्छ । पुस, माघमा हर्रोको लेदोले पोतेर सुकाइन्छ । प्राकृतिक रुपमा जंगलमा रहेका कच्चापदार्थ संकलन गरी माघ, फागुन र चैतसम्म बुन्ने गरेका छौं ।’ गुदको गुन्द्री बुन्ने निकै समय र मेहनत लाग्ने मनसुलीमायाले जानकारी दिइन् । अतिथि सत्कार मात्रै नभई संस्कार र पहिचानका लागि पनि गुन्द्री बुन्ने गरिएको उनको भनाइ छ । स्थानीय ६६ वर्षीया फूलमाया दरैले भनिन्, ‘पहिले-पहिले त बाबियाको डोरीले गुन्द्री बुनिन्थ्यो । अहिले फेरिँदै गएको छ । हामी अल्छी हुन थालेका छौं । अहिले सुतरीको डोरीमा नै गुदको गुन्द्री बुन्छौं ।’ पहिलेपहिले धेरै ठाउँमा पाइने गुद अहिले पाउन अलि कठिन हुन थालेको उनको अनुभव छ । फूलमायाले भनिन्, ‘पहिले त चार/पाँच दिन लगाएर विभिन्न स्थानमा पुगेर खोला किनारमा पाइने गुद लिएर आउने गथ्र्यौं । ल्याएर घाममा सुकाएर पुस लागेपछि भने बुट्टेदार गुन्द्री बुन्नका लागि रंग्याउने कार्य थालनी हुन्छ ।’ साधाभन्दा बुट्टेदार बुन्ने प्रचलन बढी रहेको भन्दै यो आकर्षित पनि देखिने उनले बताइन् । पहिले हिँडेर गुद ल्याउने गरिएको थियो भने अहिले सवारीसाधनमा जाने हुँदा एकै दिनमा ल्याउने गरिएको फूलमायाले बताइन् । सुविधाको पनि उपयोग गरिरहेको भन्दै परालको भन्दा गुदको गुन्द्री बुन्न कठिन हुने उनको अनुभव छ । परालको गुन्द्रीमा जस्तो बिटले गुदको गुन्द्री एकैछिनमा फुस्किने भएकाले पनि यो फरक तरिकाले बनाउनुपर्ने फूलमायाले बताइन् । हर्रोको बोक्रालाई पानीमा उमालेर बनाइएको लेदो गुदमा लगाइ घाममा सुकाइन्छ । सुकाइसकेपछि हिलो गाडेर कालो बनाउनु पर्दछ । दरै समुदायका महिलाले कालो र सेतो रङमा बुट्टा बनाएर गुन्द्री बुन्ने गर्दछन् । हिलो राम्रो नभएको स्थानमा गाड्दा कालो राम्रो नआउने उनीहरुको भनाइ छ । हिलोमा गाडेर कालो भएपछि घर ल्याएर सुकाई केही समय राखेर मात्रै बुन्न सकिन्छ । साथीहरुसँग गुद खोज्न जाने गरिएको भन्दै हालसम्म परम्परा जोगिए पनि पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् । ज्येष्ठ र अधबैंसे महिलामा यो आकर्षण भए पनि युवामा चासो नदेखिएको सुनिताको भनाइ छ । विगतमा पुरुष र महिला भएर जाने गरे पनि हाल महिला मात्रै गुद खोज्न जाने उनले बताए । संस्कार र संस्कृतिसँग नै जोडिएकाले संरक्षण गर्नुपर्ने उनीहरुको जोड छ । आधुनिक परिवेशसँगै फेरिँदै गएको नयाँ प्रविधिको गुन्द्री (म्याट) भन्दा बढी प्राकृतिक तथा जैविकरुपमा बुनिएका गुदका गुन्द्री उपयुक्त हुने भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताए । जन्मदेखि मृत्यु संस्कारका लागि अन्य किसिमका गुन्द्री दरै समुदायले उपयोग गर्दैनन् ।