काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका- ४ हिल्दुम गाउँका किसान यतिबेला तरकारी खेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्षयता गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् । सुरुमा गाउँका एक-दुई किसानले प्लास्टिकको घर (ग्रिनहाउस) निर्माण गरी तरकारी खेती गर्दै आएका थिए । पछिल्ला केही वर्षमा पूरै गाउँ नै तरकारी खेतीमा आकर्षित भएर राम्रो उत्पादन गर्दै आएको गुणनेवर इन्टरनेसनलका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताएका छन् । हिल्दुम गाउँका किसानलाई विस्तारै तरकारीमा आत्मनिर्भर बनाउनेतर्फ लाग्ने भएको शाहीले बताएका छन् । व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाइबाट सन्तुष्ट छन् । कृषि गर्नेमा अधिकांश पाका उमेरका छन् । बेलाबखत पाइने तालिम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारी खेतीमा प्रोत्साहन मिल्ने गरेको शाहीले बताएका छन् । हिल्दुम गाउँमा उत्पादित तरकारी खपत हुने मुख्य बजार सदरमुकाम सिमकोट हो । तरकारीसँगै अन्नबाली, खेत खनजोत, गाईवस्तु, र मौरीपालनमा समेत किसान व्यस्त छन् । तरकारी खेतीबाट आफ्नो परिवारको जीविका चलेको स्थानीय महिला धुनसुब्बा सुनारले बताएका छन् । तरकारीमा साग, काउली, बन्दा, धनीयालगायत उत्पादन गर्दै आएको सुनारले जानकारी दिएका छन् । दैनिक बिक्री गर्न पाए आम्दानी राम्रो हुने सुनारको भनाइ छ । हप्ताको तीन-चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उनले बताएका छन् । बालबालिकाका लागि कापीकलमदेखि घरमा नुन, तेल किन्न पुगेको सुनारले बताएका छन् । तरकारी खेती गर्दा रोग लागेमा स्थानीय प्रविधिबाट औषधि बनाएर रोग नियन्त्रण गर्ने गरेको बताइएको छ । त्यस्तै स्थानीय सकुन्तला शाही पनि कृषि काममा व्यस्त छन् । उनी यतिबेला ग्रिनहाउसमा तरकारी फलाउनमा व्यस्त देखिएका छन् । हिउँदको समयमा गाउँमा उत्पादित तरकारीले बजार राम्रो पाउने गरेको कृषक शाहीको भनाइ छ । वर्षायाममा सबैले तरकारी खेती गरेर उत्पादन गर्ने हुने हुँदा खपत कम हुने गरेको शाहीले बताएका छन् । हिउँदयाममा आफूजस्ता किसानका लागि आम्दानीको स्रोत राम्रो हुने गरेको उनले बताएका छन् । हिजोआज सदरमुकाममा लिएर एक मुठा साग र धनियाँको ३० र काउली तथा बन्दाको ४० मा बिक्री गर्दै आएको उनको भनाइ छ । एक दिनमा दुई हजारसम्म आम्दानी हुने गरेको शाहीले बताएका छन् । हिल्दुम गाउँका किसानले कसैले विभिन्न कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट प्लास्टिकका पाल सहयोग पाएका छन् भने कसैले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर पाल किनेर तरकारी खेती गरेका छन् । गाउँका सबैले यतिबेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट लैजान ३० मिनेट समय लाग्ने गरेको छ । गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमकोट पुग्ने गर्दछन् । युवा पुस्तामा तरकारी खेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका उम्मेर छिपिएका महिला तथा पुरुषले यो व्यवसाय गर्दै आएका छन् । गाउँमा सिँचाइ नभए पनि वर्षायाममा यहाँका किसानले आकाशे पानीको भरमा तरकारी फलाउँदै आएका छन् । कृषकले हिउँदयाममा भने प्लास्टिकको घर निर्माण गरी तरकारी फलाउँछन् । जिल्लाका अन्य बस्तीमा कमै मात्र किसान तरकारी खेतीमा लागेको पाइन्छ ।