काठमाडौं । सिन्धुलीमा यस वर्ष ५० करोड रूपैयाँ बढीको जुनार उत्पादन भएको छ । जुनारको मुख्य उत्पादन हुने जिल्लाका रूपमा परिचय बनाएको सिन्धुलीले ५० करोड बढीको जुनार कारोबार गरेको हो । यस वर्ष गत वर्षको तुलनामा जुनार उत्पादनमा वृद्धि भएकाले जुनारको कारोबार बढेको छ । जिल्लाको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाउँपालिका, तीनपाटन गाँउपालिका र कमलामाई नगरपालिकाका केही वडामा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ । चारवटा पालिकाका विभिन्न वडामा गरी सात सय ५० हेक्टर जमिनमा ९ हजार ९ सय मेट्रिकटन जुनार उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुलीले जनाएको छ । कार्यालय प्रमुख यामकुमार श्रेष्ठका अनुसार जिल्लामा जुनारबाट ५० करोड बढीको कारोवार भएको देखिएको छ । जसमध्ये ३३ करोड, २१ लाख ३५ हजार बराबर किसानले आम्दानी गरेका छन् भने १५ करोड बढी व्यापारीले कमाएको तथ्यांकले देखाएको छ । मंसिरको दोस्रो हप्तादेखि बजारमा आएको जुनार हालसम्म सबै बिक्री भइसकेको कार्यालयले जनाएको छ । जुनारको दररेट समयअनुसार फेरबदल भए पनि औसतमा किसानले बोटबाटै ५५ रूपैयाँ प्रतिकेजीमा बिक्री गरेका छन् । बिपी राजमार्ग निर्माण भएसँगै सोही राजमार्गसँग जोडेर जुनार क्षेत्रमा जाने सडक खुलेसँगै त्यस क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत जुनार बनेको छ । व्यावसायिक रूपमा खेती गर्दै आएका किसानले प्रत्येक वर्ष दशदेखि २० लाख रूपैयाँसम्म एकै किसानले आम्दानी लिदै आएका छन् । बिपी राजमार्ग निर्माण भएपछि पूर्वीतराईसहित काठमाडौं लगायतका स्थानमा जुनार कोसेलीका रूपमा लैजाने क्रम बढेपछि सिजनको सुरुवातमै जुनारको कारोबार राम्रो हुने गरेको किसानहरु बताउँछन् ।