काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक वर्षको अवधिमा १५ अर्ब बराबरको बिजुली निर्यात गरेको बताइएको छ । अघिल्लो २०७९ को पुस ३१ देखि २०८० को मङ्सिर १ सम्म १५ अर्ब बराबरको बिजुली बिक्री गरेको प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रवल अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार, सो अवधिमा १ सय ७५ अर्ब युनिट बिजुली बिक्री गरिएको थियो । खासगरी, वर्षायाम र हिउँद सिजनमा पनि बिजुली भारत निर्यात गर्न सफल भएको उनले बताएका छन् । आगामी दिनमा विद्युत् निर्यात अझै बढाउनुपर्ने उनी बताउँछन् । मुलुकको आर्थिक अवस्था सुधार गर्दै प्राधिकरणले नाफा आर्जन गर्नका लागि पनि आगामी वर्षहरूमा बढी भन्दा बढी बिजुली बेच्नुपर्ने उनको भनाई छ । हालसालै पनि प्राधिकरणले डेढ सय देखि २ सय मेगावाट बिजुली निर्यात गरिरहेको उनले बताएका छन् । स्वदेशमा खपत हुन नसकेको र बढी हुने बिजुली प्राधिकरणले भारत निर्यात गर्ने गरेको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ को अवधिमा ९ सय ५० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ । साना तथा ठुलो क्षमताका विभिन्न ५१ वटा जलविद्युत् आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुने अपेक्षा लिएको हो । जसमध्ये केही ठुलो क्षमताका जलविद्युत् आयोजनाहरू समेत छन् । प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्धन भइरहेको १ सय ११ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि चालू आर्थिक वर्ष भित्रै सम्पन्ने गर्ने योजना रहेको छ । त्यस्तै, ७३ मेगावाटको मध्य तमोर, ७१ मेगावाट क्षमताको निलगिरीखोला-२ (क्यासकेड), ५१.४ मेगावाटको लिखु-१, ३८ मेगावाटको निलगिरीखोला, ३२ मेगावाटको करुवा सेती जलविद्युत् आयोजना, ३० मेगावाटको खानी खोला जलविद्युत् आयोजनाहरू यस वर्ष सम्पन्न गर्ने प्राधिकरणको कार्य तालिका रहेको छ । चालू आर्थिक वर्षको हालसम्म १४.३ मेगावाटको अपर मैलुङखोला, १ं० मेगावाटको ब्लक-१ जलविद्युत् परियोजना र ९ मेगावाटको अपर चेपेखोला जलविद्युत् आयोजना सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन भइसकेको छ । ठुलो क्षमताका कतिपय जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा छन् । काबु बाहिरको परिस्थिति र अन्य कारणले निर्माणमा ढिलाइ नभएको खण्डमा मात्रै प्राधिकरणले लिएको लक्ष्य हासिल गर्न सकिने देखिएको बताइएको छ ।