काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धमा सम्झौता भएको छ । गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध भएका ट्याक्सी व्यावसायीहरूको प्रभु बैंकमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, खाताको जानकारी मोवाइल एप्लिकेसनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट-वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन बैंकसँग सम्झौता भएको हो । बैंकको तर्फबाट प्रदेश प्रमुख अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायीको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । यसै क्रममा गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १ सय ५० भन्दा बढी ट्याक्सी चालकका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीसमेत उपलब्ध गराइएको छ । यसैबीच गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्टबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौता अनुसार क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरू आवश्यकता अनुसार प्रदान गर्नेछ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका छन् । व्यावसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यावसायिक संस्थालाई पुँजीबजारमा सहज, सुरक्षित र भरपर्दो रूपमा सेवाहरू प्राप्त गर्न सहयोग पुर्याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुर्याउने विश्वास छ ।