काठमाडौं । ‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रममा स्थनीय महिला कृषकले उत्कृष्ट कृषि बीउविजन प्रदर्शनी गरेका छन् । जुम्लाको पातारासी गाउँपालिका- ६ मा रहेको पातारासी युवा सञ्जाल, हातेमालो बहुउद्देश्यीय सहकारी संस्था जुम्ला र लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्था पातारासी उर्थुले वडा नम्बर ६ र ७ कार्यालयको सहयोगमा राखिएको रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रमले किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको किसानले बताएका छन् । सहभागी किसानले उत्पादनमा आधारित, ढुवानी अनुदान, बजारीकरणमा सहजीकरण गर्न स्थानीय सरकारसँग मागसमेत गरेका छन् । पातारासी गाउँपालिकाका ६ र ७ वडा र जुम्लाको चन्दननाथ नगरपालिका- ९ वडाका किसानले समेत रैथाने स्थानीय बीउ प्रदर्शनीका लागि ल्याएका थिए । उक्त मेला स्थानीय आलु, मकै, फापर, चिनो, कागुनो, कोदो, फर्सी (कदु), सिमी, भाँगो, तिलखुरो, मार्से, मार्सी चामल, ओखेर, ढटेलो, गाजर, तोरी, जौ, भटमास लगायतका रैथाने बीउबिजन प्रदर्शनी गरिएको लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मालिका थापाले बताएकी छिन् । सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर, हातेमालो नेपाल जुम्ला आर्थिक सहयोग तथा वडा नम्बर ६ र ७ को समन्वय थियोे । मेलामा ११ वटा रैथाने बीउको स्टल राखिएका थिए । स्थानीय बालीको प्रवर्धन गर्ने उद्देश्य छ ।