काठमाडौं । तिलागुफा-३ का नवीन हमालले तीन वर्षअघि फुजी स्याउको बगैंचा विस्तार गरिरहँदा फोई गाउँमा कसैले पत्याएनन् । उनले फोईमा फुजी स्याउको सम्भावना रहेको र स्याउबाट मनग्गे आम्दानी लिन सकिने सुनाउँदै स्याउ रोप्न सुरु गरेका थिए । नवीनले अहिले गाउँमै फुजी स्याउको नमुना बगैंचा बनाएर स्याउ उत्पादन गर्न थालेपछि अहिले सबै दंग छन् । अहिले उनको सिको गर्दै गाउँलेहरू पनि स्याउ रोप्न थालेका छन् । नवीनले फोई महादेवस्थित दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जग्गा लिजमा लिएर फुजी, गाला र गोल्डेन जातका स्याउको ११ हजार बिरुवा रोपेका छन् । उनले विद्यालयलाई वार्षिक २ लाख ५० हजार भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरीथरीका स्याउ फुलेका छन् । उनले बगैंचामा हालसम्म दुई करोड लगानी गरिसकेका छन् । यो वर्ष मात्र उनले पाँच हजार स्याउका बोटबाट फल उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनलाई स्याउ जोन जुम्लाले ५० प्रतिशत अनुदान (४२ लाख) सहयोग गरेको छ । यो वर्ष पहिलो फल लिने तयारीमा रहेका हमाल इटालीबाट स्याउका बिरुवा ल्याएर रोपेको बताउँछन् । तिलागुफाको फोईमा धेरै किसानले स्याउ बगैंचा विस्तारको लागि जिल्ला कृषि विकास कार्यालयबाट अनुदान लगेका छन् तर धेरैले अनुदान सदुपयोग गर्न सकेका छैनन् । नवीनले चुली कणर्ाली एग्रो फार्म दर्ता गरी कृषिक्षेत्रमा लगानी थालेका हुन् । हमालले कालीकोट जिल्लामा फुजी स्याउको उत्कृष्ट नमुना बगैंचा स्थापना भएको सन्देश दिएर उद्यमशीलता प्रवद्र्धन गर्न प्रेरित गरिहेका छन् । कालिकोटमै नमुना बगैंचा स्थापना भएपछि रोजगारी वृद्धि हुँदा स्थानीय खुसी छन् । लगानीकर्ता समेत रहेका नवीनले शिक्षक पेशाबाट कमाएको रकम पनि थपथाप पारेर स्याउ बगैंचा स्थापना गर्न पाउँदा खुसी लागेको बताएका छन् । कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले जिल्लाकै नमुना बगैंचा दहचौरमा रहेको बताएका छन् । उनका अनुसार यो बगैंचालाई आवश्यक थोपा सिँचाइ र स्याउमा लाग्ने रोग नियन्त्रणको लागि विषादीदेखि अन्य अनुदान सहयोग गर्न पनि तयार रहेको बताएका छन् । प्रमुख बस्नेतका अनुसार प्रदेशबाट दिइने अनुदान आफ्नो मानिसलाई उपलब्ध गराउन जिल्लाबाट जितेर गएका माननीयले दबाब दिने गरेकाले अगुवा किसानले अनुदान पाउन नसकेको बताएका छन् । अहिलेको समयमा पनि यस्तो खालको परिपाटी देखिएकाले समस्या थपिएको उनी बताउँछन् ।