काठमाडौं । नेपालका पोल्ट्री उद्योग आधाभन्दा बढी बन्द भएका छन् । कोरोना भाइरस (कोभिड) र त्यसपछिको आर्थिक मन्दीका कारण ५८ प्रतिशत पोल्ट्री उद्योग बन्द भएका हुन् । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार यो अवधिमा दुई सय उद्योग बन्द भइसकेका छन् । नेपालमा पोल्ट्रीको उत्पादनसमेत घट्दै गएको छ । चार वर्षअघि प्रतिहप्ता ४५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएकोमा हाल २० लाखको हाराहारीमा उत्पादन भइरहेको अध्यक्ष विष्टले जानकारी दिएका छन् । त्यस्तै लेयर्स चल्लाको उत्पादन पनि घटिरहेको छ । प्रतिहप्ता दुई लाख लेर्यस चल्ला उत्पादन भएकोमा २० हजार मात्र उत्पादन भएको उनले बताएका छन् । उत्पादन प्रतिशत हेर्दा पनि ४४ प्रतिशत मात्र छ । यसरी व्यवसायीले उत्पादन घटाउँदै लगेपछि चल्ला र अन्डाको मूल्य भने वृद्धि भइरहेको छ । चितवनमा ब्रोइलर चल्ला प्रति गोटा ८५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यसअघि २० रुपैयाँमा पनि बिक्री नभएर व्यवसायीले चल्ला गाडेका थिए । लेयर्स चल्ला भने सय रुपैयाँमा बिक्री भइरहेको अध्यक्ष विष्टले जानकारी दिएका छन् । कुखुराको मूल्य बढ्दै गएपछि आफूहरूलाई केही राहत महसुस भएको नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले बताएका छन् । चितवनमा प्रतिकिलो चार सय रुपैयाँमा ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । किसानले समेत ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी तीन सय २० रुपैयाँ पाएको उनले बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ चैत महिनामा अन्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो । पोल्ट्री क्षेत्रको निर्यात गर्न सक्ने क्षमता भए पनि विदेशी राष्ट्रसँग नेपालले प्रतिस्पर्धा गर्न कठिन हुने उनले बताएका छन् । नेपाल दानामा समेत आत्मनिर्भर रहेको छ, तर अधिकांश कच्चा पदार्थ भने विदेशबाटै आउने गर्दछ ।