काठमाडौं । फुङलिङ नगरपालिका ६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन् । पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुन् । उनका बुबाले कागज बनाउने काम गर्नुहुन्थ्यो । कागज उद्योगमा हुर्किएका उनले पनि बुबाआमालाई सघाउँदा-सघाउँदै कागज बनाउने सीप सिकेका थिए । शेर्पाको पुख्र्यौली घर भोजपुर हो । उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरेका छन् । त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरेका छन् । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङलिङनजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका हुन् । अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् । कागज उद्योगबाट खर्च कटाएर वार्षिक १२ लाख आम्दानी हुने गरेको शेर्पाले बताएका छन् । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेका छन् । अहिले उनी घर बनाउने तयारीमा छन् । शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौं हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक चार लाख रुपैयाँ बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताएका छन् । शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको पाँच वर्ष भइसकेको छ । उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उनले जानकारी दिएका छन् । उनका अनुसार २० ग्राम कागजको प्रतिपन्ना २० रुपैयाँ र ४० ग्राम कागजको प्रतिपन्ना ४० रुपैयाँमा ठूला उद्योगले खरिद गरेर लैजान्छन् । शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार ६ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुने गर्छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन् । त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् ।