काठमाडौं । राप्ती नगरपालिका-१ प्रतापपुरका कृष्णहरी पाण्डे आफ्नो खेतमा फलेको चैते धान देखेर दंग परेका छन् । बाबुबाजेको पालादेखि धान लगाउँदै आएका पाण्डेले जीवनभर यसरी धान फलेको कहिल्यै देखेका थिएनन् । पाँच कट्ठा जग्गामा धान खेती गरेका पाण्डेले ६४ प्रतिशतले बढी फलाएका छन् । उनले प्रतिकट्ठा २.९४६ मेट्रिक टनसम्म उत्पादन गरेका छन् । धान भण्डार गर्ने ठाउँ नहुुदा प्रतिक्विन्टल २७ सय रूपैयाँमा धान बिक्री गरेका छन् । राप्ती-२ गँड्यौलीका शेरबहादुर रिजालको खेतमा पनि धानको उत्पादन राम्रो भयो । साढे १० कट्ठामा खेती गरेका रिजालले अहिलेसम्मकै राम्रो उत्पादन गरेको बताएका छन् । उनले ८० हजार रूपैयाँमा धान बिक्री गरिसकेका छन् । यसअघि रिजालले ५० हजार रूपैयाँभन्दा बढीको धान बेच्न सकेका थिएनन् । ‘मैले चैते धान मात्र बेच्छु । अहिले प्रति क्विन्टल २७ सय रूपैयाँमा बिक्री गरे । सुुक्न पाएको भए प्रतिक्विन्टल २९ सय रूपैयाँमा बिक्री हुन्थ्यो । तैपनि यस वर्ष धेरै खुसी छु’-उनले भने । चितवनमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि भएको छ । धानमा रोगको प्रकोपमा कमी आउनु, नयाँ जातलाई बढावा दिनु, सिँचाइको सुविधा पुग्नु जस्ता कारणबाट चैते धान उत्पादनमा वृद्धि भएको किसान बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ चितवनको तथ्यांकमा पनि धान जोन क्षेत्रमा धानको उत्पादन बढेको देखिन्छ । परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाका अनुसार, जिल्लामा जोन क्षेत्रमा गत वर्षकोभन्दा धानको उत्पादन दुई हजार ६८ मेट्रिकटनले वृद्धि भएको छ । गत वर्ष जोन क्षेत्रमा ५३ हजार दुई सय चार मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष ५५ हजार दुई सय ७२ मेट्रिक टन उत्पादन भएको उनले बताएका छन् । पूर्वी चितवनको आठ हजार पाँच सय ४० हेक्टर क्षेत्रफललाई धान जोनमा सूचीकृत गरिएको छ । त्यसमध्ये चार हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ । जसमा रत्ननगर नगरपालिकाको वडा नम्बर ३ देखि ९, खैरहनी नगरपालिकाको ५-७ र ९-१३, राप्ती नगरपालिकाको १-४ र ६ नम्बर वडा रहेका छन् । मेसिनले धान रोपेका किसानले धेरै उत्पादन गर्न सफल भएको परियोजनाका कार्यालय प्रमुख महेश रेग्मी बताउँछन् । कुनै किसानले प्रतिहेक्टर ८.४१६ मेट्रिकटनसम्म धान उत्पादन गरेका छन् । चितवनमा चैते धान बालीका रूपमा चैते-५, हर्दिनाथ-१, पिआर जातका धान लगाउने गरिएको छ । उक्त जिल्लामा २२ हजार आठ सय ७० हेक्टरमा धान खेती हुुन्छ । त्यसमध्ये पाँच हजार पाँच सय ४० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।