काठमाडौं । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका- १ समैजी मुद्राड गाउँका स्थानीय व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएका छन् । मुद्राडका महिला तरकारी लगाउन खेती सिक्दै, उत्पादन गर्दै आएका छन् । किसानका बारीमै प्रशिक्षक गई कृषि ज्ञान केन्द्रले आईपीएम कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका ३० बढी महिला समूहमा आबद्ध भई हाल तरकारी खेती गरिरहेका छन् । सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै मुद्राडका महिलाले भेडे खुर्सानी, गोलभेंडा, भिन्डी, खुर्सानी लगायतका वस्तुहरू उत्पादनसमेत गरेका छन् । तरकारी खेती गर्न खनजोतदेखि बेर्ना राख्ने, मलजल गर्ने, गोडमेल गरी बजारसम्म पुर्याउने गरी पाठशालामा महिलालाई सिकाइएको कृषि ज्ञान केन्द्र डँडेलधुराका कार्यालय प्रमुख खेमराज पनेरूले बताएका छन् । मुद्राड गाउँमा आयोजना गरिएको आईपीएम कृषक पाठशालाका माध्यमबाट बढीभन्दा बढी तरकारी उत्पादन गरी महिलालाई आम्दानी बढाउन सहयोग गरिएको बताइएको छ । ग्रामीण सडक पुगेको मुद्राड गाउँमा सिँचाइका लागि कुलोको व्यवस्था र उर्वर भूमिसमेत भएकाले व्यावसायिक रूपमा तरकारी खेती गरी सक्षम भइरहेका छन् । आईपीएम पाठशाला योजना लागु भएकाले गाउँका किसानले राम्रो तरकारी खेती गर्दै गए थप योजनाहरू समेत प्राथमिकतामा राखी कार्यालयबाट सहयोग गर्ने ज्ञान केन्द्रका निमित्त प्रमुख पनेरूले बताएका छन् । तरकारी तथा खाद्य वस्तु आलीदेखि थालीसम्म सफा र स्वच्छ राख्नसमेत खाद्यसुरक्षा अन्तर्गतका कुराहरू पनि आईपीएम अर्थात् इन्टिग्रेटेड पेस्टी मेनेजमेन्ट (एकीकृत शत्रुजीव व्यवस्थापन) पाठशाला मार्फत कृषकलाई जानकारी गराइएको छ । परम्परागत रूपमा खेतीपाती गर्दै आइरहेका तथा प्रविधि नपुगेका किसानसम्म प्रविधि र आधुनिक खेतीबारे जानकारी गराई उत्पादन बढाउने लक्ष्य सरकारको रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत लेखराज निरौलाले जानकारी दिएका छन् । यसका लागि पाठशाला सञ्चालन गरिँदै आएको र यो योजनाबाट किसानले फाइदा लिँदै आएका छन् । स्थानीय, उन्नत र आधुनिक गरी तीन तरिकाले भेडेखुर्सानी लगाई तरकारी खेती गर्न सिकेको गैरीपोखरी आईपीएम कृषक पाठशाला समूहका अध्यक्ष इश्वरीदेवी भण्डारीले वताइन् । आधुनिक प्रविधिबाट तरकारी खेती गर्दा उत्पादन बढी भइरहेको उनले बताइन् । तरकारीका बिरुवा कति दूरीमा रोप्ने, ड्यांग कसरी बनाउने, कुन किरा मित्र, कुन शत्रु, किराको प्रकोप तथा विभिन्न रोग, संक्रमणको जोखिम कम गर्न विषादीको प्रयोग गर्नेबारे जानकारी पाएका छन् ।